तीन दिनदेखि बेपत्ता भएकी ४ बालिकाको भारतबाट उद्धार
३१ साउन, रौतहट । तीन दिनदेखि हराएकी ४ जना बालिकालाई भारतबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बारा जिल्लाको देवताल गाउँपालिका वडा नम्बर १ बडकीफुलवरिया टोल बस्ने नरेश साह गोडको ४ छोरीहरु यही साउन २७ गते (बुधबार) बेपत्ता भएकी थिइन् ।
आफ्नै घरबाट बेपत्ता भएकी १२ वर्षीय काजल कुमारी, १० वर्षीय आँचल कुमारी, ८ वर्षीय अञ्जली कुमारी र ६ वर्षीय नेहा कुमारीलाई सीमावर्ती देश भारतमा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
मिश्रका अनुसार बालिका हराएको खबर प्राप्त हुनसाथै खटिएको प्रहरी टोलीले २४ घण्टामा भित्र भारतको श्रीसियाबाट फेला पारेको थियो । बालिका भेटिएसंगै भारतीय प्रहरीको समन्वयमा सकुशल उद्धार गरी बालिकाहरुलाई परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।






