कपिलवस्तुबाट पेस्तोलसहित तीनजना पक्राउ

   २८ श्रावण २०७८, बिहीबार १५:१९  

२८ साउन, रौतहट । कपिलवस्तुबाट पेस्तोलसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको महाराजगन्ज नगरपालिका ९ औरहवाबाट बुधबार साँझ सोही स्थान बस्ने २० वर्षीय लक्ष्मण यादव, २८ वर्षीय विश्वम्वर यादव र ४१ वर्षीय सम्साद अहमद खाँनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी कुशुहवाबढनीबाट खटिएको गस्ती टोलीले सवारी चेक जाँच गर्ने क्रममा बाटोमा हिडिरहेको उनीहरुलाई शंकास्पद अवस्थामा चेक जाँच गर्दा एक थान नलकटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ३ राउण्ड गोली फेला परेको प्रहरीले बताए ।

पक्राउ परेका तीनै जनामाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।