ओलीले रोक्न खोजे प्रचण्डले अघि बढाउने

   १२ श्रावण २०७७, सोमबार १५:१५  

साउन १२, रौतहट । केही समय मत्थर जस्तो देखिएको सत्तारुढ नेकपाभित्र कलहले फेरि नयाँ मोड लिएको छ। अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा सोमबार दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच लामो छलफल भएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले कुनै पद पनि नछोड्ने र पार्टी विवाद व्यवस्थापनका लागि पहल पनि नगर्ने अवस्थाले पार्टी विवादलाई जटिल बनाएको निश्कर्ष निकाल्दै छलफलमा अब कुनै पनि बाहनामा स्थायी समिति नरोक्ने सहमति भएको सहभागी एक नेताले अन्नपूर्ण अनलाइनलाई बताए ।

पार्टीको आन्तरिक संघर्ष चर्किँदै गएपछि प्रधानमन्त्री ओलीकै आग्रहमा पटकपटक स्थायी समिति स्थगित हुँदै आएको छ । असार १० गते सुरु भएको बैठक अहिलेसम्म आठपटक स्थगित भइसकेको छ । साउन १३ गते मंगलबार बोलाइएको बैठक ओलीले रोक्न खोजे अर्का अध्यक्ष प्रचण्डले अघि बढाउने सहमति खुमलटार बैठकमा भएको छ ।
चार नेताबीचको छलफलअघि सोमबार बिहान प्रचण्डले गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादलसँग पनि छलफल गरेका थिए ।

पछिल्लोपटक साउन ९ गते ओली र प्रचण्डबीच पौने घन्टा छलफल भएको थियो । त्यसपछि पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले अध्यक्ष ओलीले पार्टी विभाजन गर्न खोजेको र उनकै सक्रियतामा निर्वाचन आयोगमा एमाले पार्टी दर्ता भएको अभिव्यक्ति दिएका थिए । प्रचण्डको यो अभिव्यक्तिपछि पार्टी किचलोले फेरि अर्को मोड लिएको हो ।

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी समितिको बैठक पार्टीको आन्तरिक विवादका कारण निरन्तर स्थगित हुँदै र सर्दै आएको छ । हरेक दिनजसो बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भए पनि अहिलेसम्म कुरा मिलेको छैन । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतले ओलीको राजीनामा माग्दै आएका छन, भने ओलीले कुनै पनि पदबाट अहिले राजीनामा दिने अवस्था नरहेको बताउँदै आएका छन ।

पछिल्लो पटक एउटा कुनै पदबाट राजीनामा दिन आग्रह गर्दा पनि ओलीले इन्कार गरेका छन । ओलीले जस्तोसुकै परिस्थिति पनि सामना गर्न आफू तयार रहेको तर राजीनामा दिएर जिम्मेवारीबाट नभाग्ने बताउँदै आएका छन ।
प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारत सक्रिय भएको र होटल एवं दूतावासमा चलखेल भइरहेको भनी दिएको पछिल्लो अभिव्यक्तिपछि पार्टीभित्र विवाद चर्केको हो ।

स्थायी कमिटीको असार १६ गतेको बैठकमा अध्यक्ष प्रचण्डु, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीबाट राजीनामा मागेपछि आन्तरिक कहलले झन् गम्भीर रुप लिएको हो । पार्टीभित्र चर्केको आन्तरिक कलहबीच नै प्रधानमन्त्री ओलीले असार १८ गते आकस्किक रुपमा संसद अधिवेशन अन्त्य गरेपछि अवस्था थप जटिल भएको हो ।

यसबीचमा शीर्ष तहमा पटकपटक वार्ता र छलफल भए पनि अहिलेसम्म विवाद समाधान उपाय निस्किन सकेको छैन । त्यसैगरी दोस्रो पुस्तका नेताहरु र युवा नेताहरु पनि पार्टी विवाद मिलाउन क्रियाशिल देखिएका छन, तर सहमति बन्न सकेको छैन ।