सर्लाहीमा बाख्रा चराउन गएका दुई जना बालिका मृत भेटिए

   ११ श्रावण २०७७, आईतवार ११:४६  

साउन ११, रौतहट । सर्लाहीको ईश्वरपुर नगरपालिकामा बाख्रा चराउन गएका दुई जना बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन ।

ईश्वरपुर नगरपालिका १४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतो मृत अवस्थामा फेला परेका हुन् ।

उनीहरु शनिबार बिहान १० बजेतिर बाख्रा चराउन गएका थिए, तर साँझसम्म दुवै घर नफर्किएपछि आफन्तहरुले खोजी सुरु गरेका थिए । खोजतलासको क्रममा स्थानीय प्रकाश महतोको नयाँ खन्दै गरेको पोखरीमा दुवै जनाको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले बताए ।

“सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार दुवै बालिकाको कपडा र चप्पल पोखरी छेउमा भेटिएको थियो” । अहिले दुवै बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल मलँगवा ल्याइसकिएको र घटनाको अनुसन्धान सुरु गरेको प्रवक्ता मदन कुँवरले बताएका ।