अवैध नोटसहित दुई भारतीय नागरिक पक्राउ
९ साउन, रौतहट । श्रोत नखुलेको भारतीय नोटसहित विराटनगरबाट प्रहरीले दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
मोरङ जिल्लाको विराटनगर महानगरपालिका १७ मटेरुवा चोकबाट भारतको उत्तरप्रदेश लखनउका ३४ वर्षीय अतुलकुमार र ३५ वर्षीय सन्दिप सिंहलाई भारतीय र अमेरिकी डलरसहित पक्राउ गरिएको हो ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको थियो ।
प्रहरीका अनुसार उनीहरूको साथबाट १ लाख ८ हजार ५ सय भारतीय नोट बरामद गरिएको छ, भने अमेरिकन नोट १०० को २१ थान,२० को ५ थान, १० को १ थान, र १ को ४ थानसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।






