रौतहटको सिमानामा झडप

   १० श्रावण २०७७, शनिबार १४:१४  

रौतहट, १० साउन ।
रौतहटको परोहा नगरपालिका ८ नरकटियमा नेपाल भारत सिमाक्षेत्रमा झडप भएको छ ।

नरकटिकयाको नेपाल भारत सिमामा शुक्रवार साँझ ड्युटिमा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुमाथि भारतीय महिलाहरुले हातपात गरे पछि सो स्थानमा झडप भएको थियो । सिमानाका बन्द रहेको अवश्थामा दुई भारतीय महिलाहरु घाँस काटन नेपाली क्षेत्रमा प्रवेश गर्न खोजे पछि सशस्त्र प्रहरी बलले प्रवेश गर्न नदिए पछि उनीहरुले सुरक्षाकर्मी माथि नै हातपात गर्न खोजेका थिए ।

कोरोना संक्रमणका कारण सिमानाका बन्द भएको बेला भारतीयहरुलाई नेपाल प्रवेश गर्न रोक लगाएको विषयमा शुरु भएको विवादले उग्र रुप लिए पछि भिडलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको सशस्त्र प्रहरी बल ११ नम्बर गणले जनाएको छ । घाँसदाउराका लागी नेपाल तर्फ प्रवेश गर्न खोज्ने भारतको पूर्वी चम्पारण कवैया पञ्चायत ६ खर्सलाहाका सिमा देवी कुशवाहाले आफूले बोकेको हसिया प्रहार गरि सशस्त्र प्रहरीका एक जवानलाई घाइते बनाए पछि हवाइ फायर गर्नु परेको गणले जनाएको छ ।

घटनाले उग्ररुप लिए पछि ११ नम्बर गण हेडक्वाटर बाट ५० जना र ईलाका प्रहरी कार्यालय मौलापुर बाट ३५ जनाको थप सुरक्षाकर्मीको टोली परिचालन भएको थियो । घटनामा सँलग्न रहेका भारतीय नागरिक रविन्द्र प्रसाद कुशवाहालाई पक्राउ गरि प्रहरी चौकी नरकटियामा राखिएको थियो ।

घटना पश्चात सशस्त्र प्रहरी बल २ छिन्नमस्ता बाहिनीका डिआइजी कृष्णभक्त ब्रह्मचार्यले समेत घटनास्थलको स्थलगत निरिक्षण गरेका थिए । हाल अहिले सिमाक्षेत्रको अवश्था सामान्य रहेको छ ।