बडादसैं आजदेखि सुरु

   १० आश्विन २०७९, सोमबार ११:०६  

१० असोज, रौतहट । आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना सुरु भएको छ ।

हिन्दू धर्मका महान पर्व बडा दसैँ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष शुल्क प्रतिपदा (आजै)को दिन विधिपूर्वक घट अर्थात् घडास्थापना गरी महान दुर्गा (भगवती)को नौँ स्परुपको दस दिन पुजा आराधना गरिने गरिन्छ ।

नेपाली पञ्चाङका अनुसार सोमबार बिहान १०:२३ बजे घटस्थापनाको साइत रहेकोछ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि कुल परम्परा अनुसार जौसितै रोप्ने गरिन्छ ।

बडा दसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै गरी नौवटी कन्याको पूजा समेत गर्ने गरिन्छ ।
आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।