कैलालीमा दुई जनाको शव बेवारिसे अवस्थामा फेला
५ असोज, कैलाली । कैलालीको छुट्टाछुट्टै स्थानबाट दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्लाको गोदावरी नगरपालिका १२ को शान्तिनगरमा एक जनाको र धनगढी उपमहानगरपालिका १ मा एक जना गरी दुई जनाको शव बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
गोदावरी १२ को शान्तिनगरमा आज बिहान मृत अवस्थामा फेला परेको २५ वर्षीय मदन बडेलाको टाउको र खुट्टामा चोट देखिएको कैलालीका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । बडेलाको हत्या भएको आशंकामा घटनाबारे थप अनुसन्धान सुरु भएको छ र पोष्टमार्टमको लागि मृतकको शव अस्पतालमा पठाइएको छ ।
यस्तै, धनगढी उपमहानगरपालिका १ मा कञ्चनपुरको कृष्णनगरपालिका ८ का ७४ वर्षीय धनसिंह जेठराको शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छोरीको घर आएका जेठरा मंगलबार साँझ घर बाहिर निस्किएका थिए ।
अबेर रातिसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्दै जादाँ बुधबार बिहान कैलाली कारागार पछाडि निजको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।






