पुजारीलाई गोली हानी फरार भएका प्रतिवादी प्रहरी नियन्त्रणमा

   २६ भाद्र २०७९, आईतवार १७:२८  

२६ भदौँ, रौतहट । रौतहटको माधवनारायण नगरपालिकास्थित हनुमान मन्दिरको पुजारीलाई गोली हानेर फरार भएका प्रतिवादी पक्राउ परेका छन् ।

पुजारीको हत्या गरी फरार भएको देवाही गोनाही नगरपालिका १ करुनिया घर भएका मोहमद कासिम उर्फ (शेख विकाउर)लाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

२०७७ भदौँ ३ गते (बुधबार) राति करिब ९ बजेतिर हनुमान मन्दिरको पुजारीलाई गोली हानी हत्या भएको थियो । रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ स्थित हनुमान मन्दिरमा पुजा गर्दै बसेका पुजारी श्रीराम साहलाई राति खाना खान बसेको बेला गोली हानेर हत्या भएको थियो । पुजारी साहको हत्या गरी फरार भएका एक जना आरोपीलाई दुई वर्षपछि हिरासतमा लिन प्रहरी सफल भएका छन् ।

६५ वर्षीय पुजारी साहको कन्चटमा होली हानी हत्या गरिएको थियो । पक्राउ परेका आरोपी शेख विकाउरमाथि यसबारे अनुसन्धान सुरु भएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ ।

यस्तै, लागूऔषध मुद्दामा फरार भएका एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । रौतहटको यमुनामाई गाउँपालिका बस्ने ४० वर्षीय राम नरेश साह (कानु)लाई नियन्त्रण लिएको हो ।

फरार रहेको कानुलाई भदौँ २४ गते (शुक्रबार) हिरासतमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।