सिकाइ प्रक्रियामा दण्ड-सजाय किन ?

   १५ भाद्र २०७९, बुधबार १४:३५  

१५ भदौँ, दीपकराज जोशी ।

मानसिक तथा शारीरिक रूपमा कुनै पनि किसिमको दण्ड-सजाय बालबालिकालाई दिन पाइँदैन र यदि दिएको पाइएमा ७५ हजार रुपैयाँ जरिवाना र ३ वर्षसम्म जेल हुनसक्ने हाम्रो कानुनी व्यवस्था छ । के हाम्रा विद्यालयहरूमा यसको जानकारी आम शिक्षाकर्मीमा छ त ? के चेतना भएर पनि सजाय दिनुपर्ने बाध्यता छ ?

वास्तविकता के हो त ? दण्ड–सजाय विना सिकाउन सकिंदैन त ? के हामी शिक्षाकर्मीहरू दण्ड-सजाय विना सिकाउन सक्दैनौं ? सिकाइ प्रक्रियासँग दण्ड–सजायको कुनै साइनो छ त ? यी यावत् प्रश्न हामीमाझ उब्जने गर्दछन् ।

गुरुकुल शिक्षा प्रणालीमा ऋषि, महर्षिहरूले निःशुल्क रूपमा आफ्नै आश्रममा बालबालिकालाई प्रेम, माया र सद्भावका साथ शिक्षा दिने तथा काममा लगाउने गर्दथे भन्ने कुरा हामीले सुन्दै आएका छौं ।

तत्कालीन समयमा विद्यार्थी बढी अनुशासित, लगनशील तथा संस्कारयुक्त हुने गर्दथे । आजभोलि अनुशासन र संस्कारसहितको शिक्षा भन्ने कुरा बोली, प्रचार, होडिङ बोर्ड र विज्ञापनमा बढी देखिन्छ तर वास्तविक जीवन÷व्यवहारमा कम हुँदै गइरहेको अनुभव भइरहेको छ ।

शिक्षा सर्टिफिकेट हो कि वास्तविक जीवन व्यवहार, जीवनशैली, भाषा, आचरण हो ? सर्टिफिकेट लाइसेन्स मात्र हो तर गाडी चलाउन सीप चाहिन्छ । तसर्थ जीवनलाई सफलतापूर्वक चलाउन र सार्थक तुल्याई जीवन जिउनको लागि असल व्यवहार, जीवन जिउने सीप तथा आचरणको विकास हुन नितान्त आवश्यक छ ।

बालबालिकालाई भयरहित वातावरण सिर्जना गरेर मात्र उनीहरूलाई सिकाउन सम्भव छ । तर मिडियामा बेला बेला विद्यालयमा बालबालिकालाई अंगभंग हुने गरी कुट्ने, ट्वाइलेटमा थुन्नेलगायत विभिन्न तरिकाले मानसिक तथा शारीरिक रूपमा सजाय दिने क्रम निरन्तर रूपमा चलिरहेको कुरा देख्न र सुन्न पाइन्छ ।

के दण्ड–सजाय विना पढाउन–सिकाउन सकिंदैन त ? पढाइ त सम्भव होला तर सिकाइ सम्भव छैन । सिकाइ पे्रम, सद्भाव र स्नेहमा मात्र संभव छ । सुन्ने–सुनाउने प्रक्रियामा भय–त्रास सिर्जना गर्न सकिन्छ तर सिकाउनको लागि विद्यार्थीको मन र मस्तिष्कको गहिरो लगाव चाहिन्छ । तसर्थ त्यसको लागि तनावरहित वातावरण आवश्यक हुन्छ ।

हाम्रो सिकाइ प्रक्रियामा कहाँ समस्या छ त ?

१. घरपरिवारभित्र नै बालमैत्री वातावरण आवश्यक:

हाम्रो समाजमा बुबाआमा तथा घरका अग्रजहरूले बालबालिकासँग कस्तो व्यवहार गर्ने गर्दछौं । जन्मेको २–३ वर्षसम्म बालबालिकाले अभिभावकबाट अत्यधिक प्रेम र स्नेह पाएका हुन्छन् तर समयक्रम सँगसँगै गल्ती कमी–कमजोरीलाई आत्मसात् गरी सच्याउनका लागि उत्प्रेरित गर्नुको साटो तर्साउने, कुट्ने, पिट्ने गर्दछौं ।

बालबालिकालाई हेपेर बोल्ने, थर्काउने, डर–त्रास सिर्जना गरी काबुमा राख्ने अधिकांश घरपरिवारमा भइरहेकै छ । किनकि हाम्रो हिजोको सिकाइ नै यस्तो भयो र हामी अग्रजहरूले समय सापेक्षित रूपमा परिष्कृत गर्न सकेका छैनौं ।

तसर्थ अधिकांश हामी अभिभावकसँग भएको एउटै विकल्प थर्काउने, त्रास सिर्जना गर्नु हो जसले क्षणिक रूपमा भए पनि समस्या समाधान भए जस्तो लाग्दछ । यसको प्रभाव प्रत्यक्ष–परोक्ष रूपमा विद्यालयमा पर्ने नै हुन्छ किनकि शिक्षक समाजकै अंग हो ।

विद्यार्थीको बानी, आचरण पनि त्यसरी नै विकास भइराखेको हुन्छ । तसर्थ प्रत्येक घरपरिवारबाट दण्ड–सजायको अन्त्य हुनुपर्दछ र त्यसका लागि अभिभावकहरूलाई विद्यालयले पनि सचेत गराउनुपर्दछ ।

२. धैर्यको कमी:

हामी बुवाआमा, शिक्षाकर्मीलगायत अग्रजहरूले सिकाइ प्रक्रिया लामो समयसम्म जान्छ, गल्तीबाट नै सिकिन्छ र सिकाउने प्रक्रिया निरन्तर चलिरहन्छ तर हिजोका दिनमा म स्वयं आफैंले यसरी नै सिकेको हो भन्ने कुरा हामीहरू बिर्सिसकेका छौं ।

बालमनोविज्ञान र उनीहरूको सिक्न सक्ने क्षमताको ज्ञान हामी शिक्षक र अभिभावकमा नहुन सक्छ । दिगो सिकाइका लागि मन र मस्तिष्कको सामूहिक प्रयास चाहिन्छ भन्ने कुरामा हेक्का गर्दैनौ; केवल मस्तिष्कलाई नियन्त्रण गर्ने गर्दछौं तर मनले स्वीकार गरेकै हुँदैन ।

के दण्ड–सजाय विना पढाउन–सिकाउन सकिंदैन त ? पढाइ त सम्भव होला तर सिकाइ सम्भव छैन । सिकाइ पे्रम, सद्भाव र स्नेहमा मात्र सम्भव छ । सिकाउनको लागि विद्यार्थीको मन र मस्तिष्कको गहिरो लगाव चाहिन्छ ।
सबै बालबालिकाको सिक्न सक्ने क्षमता एकनास हुँदैन र आ–आफ्नो पृष्ठभूमि अनुसार उसको अनुशासन, क्रियाकलाप र बानी–व्यवहार फरक हुन्छ । कसैलाई सिक्न लामो समय लाग्न सक्छ । लामो यात्रा गर्न कठिनाइ हुन्छ तर यात्रालाई गन्तव्यमा पुर्‍याएपछिको सफलताको परिमाण दूरगामी हुन्छ । क्षणिक रूपमा गरिने डर, त्रासले निरन्तर रूपमा दिने र पाउने दुवैलाई सधैंभरि तनावको वातावरणमा मात्र बाँच्न बाध्य बनाउँदछ ।

तसर्थ हामी अभिभावक तथा शिक्षक धैर्यवान् बनी समझदारीपूर्वक आफ्ना बालबालिकालाई सही दिशानिर्देश गर्न सक्नु नै बुद्धिमानी ठहर्छ । बालबालिकाबाट भएका गल्ती तथा कमी–कमजोरीलाई प्रेमपूर्ण तरिकाले बोध गराएर सच्याउँदै दिगो रूपमा अनुगमन, अवलोकन गर्दै अघि बढ्न सकेमा विद्यार्थीमा असल बानीको विकास हुन्छ ।

सामान्यतया २१ दिनसम्म निरन्तर रूपमा कुनै बानी दोहोर्‍याइरहेमा उक्त विषयवस्तुमा बानीको विकास गर्न सकिन्छ । तर निरन्तर आत्मबोध, खबरदारी र अनुगमनको नितान्त आवश्यकता पर्दछ ।

३. कक्षाकोठाको शिक्षण प्रक्रियामा विविधता:

सामान्यतया हाम्रो विद्यालयहरूमा एउटा विषयको लागि दिनमा ४० देखि ६० मिनेटसम्मको कक्षा घण्टीको व्यवस्थापन गरिएको पाइन्छ । तर हामी शिक्षाकर्मीहरूले कक्षामा जानु भन्दा पहिला कत्तिको तयारी गरेका हुन्छौं ? विषयवस्तुमा कत्तिको दख्खल गरेका हुन्छौं ?

निरन्तर रूपमा २० देखि ३० मिनेटभन्दा बढी कुनै पनि बालबालिका अरूलाई सुन्न सक्दैनन् भने निरन्तर रूपमा ४० देखि ५० मिनेटसम्म एकोहोरो रूपमा पढाउने बानीले कक्षाको वातावरण कस्तो होला ?

तसर्थ एउटा कक्षा घण्टीमा कम्तीमा ३ देखि ४ वटासम्म फरक फरक गतिविधिले मात्र विद्यार्थीको ध्यानाकर्षण गर्न सकिन्छ र सिकाइमा प्रभावकारिता आउने गर्दछ र तत्पश्चात दण्ड–सजाय दिनुपर्ने अवस्था रहँदैन । जब बालबालिकामा इच्छा जागृत हुन्छ तब उनीहरूले सबै कुरा ध्यान दिएर तनमनले नै ग्रहण गर्दछन् ।

४. अनपेक्षित अपेक्षा गर्नुहुँदैन:

प्रत्येक बालबालिकामा फरक–फरक क्षमता तथा इच्छा हुने गर्दछ तसर्थ उनीहरूको फरक क्षमता र इच्छालाई हामीहरूले सम्मान गर्न सक्नुपर्दछ । हामी प्रत्येक बालबालिका उस्तै र एकनासको भइदेओस् भन्ने अभिभावकको चाहना हुन्छ र त्यसको प्रत्यक्ष–परोक्ष असर शिक्षाकर्मीमा पर्ने गर्दछ । जसका कारण बालबालिकासँग अनपेक्षित आशा रहने गर्दछ र फलतः बालबालिका दबावमा पर्ने, दण्ड–सजायको भागी बनाइने गरिन्छ ।

किताबी ज्ञान जीवनको एउटा पाटो मात्र हो तसर्थ यसलाई नै सर्वाङ्गीण बनाएर अनावश्यक दबाव सिर्जना गर्ने काम बन्द गर्नुपर्दछ । प्रमाणपत्र प्राप्तिका लागि मात्र सबैलाई एउटै बास्केटमा राख्नुपर्ने हुन्छ अन्यथा आवश्यक छैन ।

शिक्षण सिकाइ तथा हाम्रो मूल्यांकन प्रणालीमा केही सकारात्मक संकेत छन् तर सर्वाङ्गीण रूपमा मूल्यांकन प्रणाली ३ घण्टाको परीक्षाले मात्र न्याय दिनसकेको अवस्था चाहिं होइन ।

५. आफ्नो कमि-कमजोरीको विकल्प हो दण्ड–सजाय:

हामी अभिभावक तथा शिक्षाकर्मी आफूलाई सक्षम बनाउन सकेका छैनौं भने त्यसको शिकार बालबालिका हुने गर्दछन् । विद्यार्थीले गृहकार्य गरेनन्, बदमासी गरे, भनेको मानेनन्, झगडा गरे लगायत थुप्रै कारणबाट विद्यार्थी दण्ड–सजायको भागी हुने गर्दछन् । वास्तवमा उनीहरूलाई आफ्नो दायित्व र जिम्मेवारी बोध गराएर जिम्मेवारी बहन गराउन नसक्नु हाम्रो कमजोरी हो ।

बालबालिकालाई काउन्सिलिङ, मोटिभेट गर्नुको सट्टा हामीहरू कुट्ने, पिट्ने बाटोतिर लम्किरहेका छौं । जसको प्रतिफल क्षणिक त्रसित वातावरण सिर्जना गराउनु हो । दीर्घकालीन रूपमा बालबालिका मानसिक तथा शारीरिक रूपमा अपाङ्ग बन्ने संभावना हुने गर्दछ । त्यसको लागि शिक्षक तथा अभिभावकहरूमा चाहिने सीप, कला, क्षमता विकास गर्नु आवश्यक छ ।

अर्कोतिर हामीहरू हाम्रो व्यक्तिगत, पारिवारिक, पेशागत व्यवस्थापनमा चुकेका हुन सक्छौं । जसले गर्दा हामी स्वयंमा निहित तनाव र विवेक शून्यताका कारण बालबालिका माथि जाइलागेर आफ्नो कमि–कमजोरी ढाकछोप गर्नका लागि रिसाहापन देखाउने गर्दछौं । जुन बानी हामी सबैले आत्मसात् गरी सच्याउनुपर्दछ ।

५. बालबालिकामा सही संस्कार रोपौं:

जन्मजात कुनै बालबालिका बदमास वा खराब आचरणका हुँदैनन् । तसर्थ उनीहरू कस्तो वातावरणमा हुर्किए, कस्तो भाषा, आचरण घरपरिवारले सिकायो त्यही सिक्ने हुन् तसर्थ बालबालिकामा समस्या छन् भने त्यसको पहिचान गरी समाधान गर्नका लागि तयारी गर्नुपर्दछ ।

आजभोलि पनि केही अभिभावकहरू विद्यालयमा आएर मेरो बाबु नानी बदमास भयो गाली गरिदिनु, एक दुई चड्कन लगाइदिनु भन्ने पनि छन् । यस्तो अवस्थामा अभिभावकलाई जबसम्म परिवर्तन गर्न सकिंदैन बालबालिकालाई सुधार्न सकिंदैन । प्रेमपूर्ण वातावरणसहितको अनुशासित वातावरणमा हुर्काएका बालबालिकालाई कसैले पनि पिट्नुपर्दैन तसर्थ समस्याको वास्तविक रूपमा दीर्घकालीन रूपमा समाधान खोज्ने हो ।

प्रत्येक घरका बुवाआमाले आफूलाई समय सापेक्षित रूपमा परिवर्तन गरी संस्कारसहितको असल आचरण रोप्न सकेमा धेरै समस्याको समाधान हुने गर्दछ ।