चन्द्रपुरमा बस र अटो एक आपसमा ठोक्किदाँ ३ जनाको मृत्यु, ४ जना घाइते
२ भदौँ, रौतहट । रौतहटको चन्द्रपुरमा बस र अटो एकआपसमा ठोक्किदाँ ३ जनाको मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका २ पूर्व पश्चिम राजमार्गको पूर्वी लच्का नजिकै आज बिहान ५ बजेतिर बस र अटोरिक्सा आपसमा ठोक्किदाँ ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
बिहीबार बिहान भएको सवारी दुर्घटनामा परेर अटोमा सवार सर्लाही २ सोल्टीका ढकबहादुर लुंगेली मगर, प्रेम ठाडा मगर र अटो चालक रवि मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रपुरका अनुसार काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्बरको एक आपसमा ठोकिएर दुर्घटना भएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका तीनै जनालाई अस्पतालमा ल्याएपनि चिकित्सकले मृत घोषणा गरेको थियो ।
यस्तै, घाइते भएका ४ जनाको चन्द्रपुर अस्पतालमै उपचार भइरहेको छ । दुर्घटना पश्चात् बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






