नेपालमा आज थपिए १ हजार ९० जना संक्रमित
२४ साउन, रौतहट । नेपालमा आज एकैदिन १ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा २ हजार ९ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ६० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, यो अवधिमा ३ हजार ३ सय ४२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ३० जनामा एन्टिजेन संक्रमण देखिएको छ । त्यसैगरी, बितेको २४ घण्टामा थप ४ सय ३८ जना कोरोनामुक्त भएका छन् ।
यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।
योसंगै हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ९ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






