नक्कली नोटसहित रौतहटबाट ४ जना पक्राउ
२० साउन, रौतहट । नक्कली नोटसहित रौतहटको बौधीमाई नगरपालिकाबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईनरवारीका २६ वर्षीय सन्तोष पटेल, बौधीमाई नगरपालिका ४ बस्ने २९ वर्षीय देवनारायण दास, २२ वर्षीय फुल महम्द र २४ वर्षीय नौसाद आलम रहेको प्रहरीले जनाएको छ ।
बौधीमाई नगरपालिका ३ जिउताही टोलमा बुधबार (नाग पञ्चमी)को अवसरमा लागेको मेलामा पसलहरुमा नक्कली रुपैयाँ दिएको भन्ने खबर पाएको थियो ।
मेलामा नक्कली रुपैयाँको चलखेल भएको खबर पाएलग्त्तै बिहीबार ईलाका प्रहरी कार्यालय बौधीमाई नगरपालिकाबाट खटिएको टोलीले चेकजाँच गर्दै जादाँ हजारको २० थान नक्कली नोट बरामद गरेको थियो ।
पटेलको साथबाट हजारको १ थान जाली नोट फेला परेपछि शंकास्पद अवस्थामा उनीसंगै थप तीन जनालाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पक्राउ परेका चारै जनामाथि यसबारे अनुसनधाना भइरहेको प्रहरीले जनाएको छ ।






