डेलीमेलमा प्रकाशित समाचार प्रति नेपाली दूतावासकाे आपत्ति
२१ जेठ, राैतहट । डेलीमेलले प्रकाशन गरेका समाचार प्रति लण्डनस्थित नेपाली दूतावासले आपत्ति जनाएको छ ।
बेलायती पत्रिका डेलीमेलले प्रकाशन गरेकाे समाचारमा नेपाल नयाँ भेरियन्टको खतरामा रहेकाे भनी उल्लेख थियो । समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) भेरियन्ट फेला परेका छन् ।
यी दुवै भेरियन्टकाे उत्पत्ति नेपालमा नभएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) जनाएकाे छ । डब्लुएचओले नेपालमा नयाँ संस्करणको भेरियन्ट उत्पत्ति भएको भन्ने समाचारको खण्डन गरिरहेको दूतावासले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।
यससँगै दूतावासले डेलीमेललाई पत्र पठाएर आधारहीन समाचारलाई खण्डन गर्न र यसलाई सच्याउन अनुरोधसमेत गरेको विज्ञप्तिमा जनाइएको छ ।
विश्व स्वास्थ सङ्गठनले बिहीबार नै ट्वीटर ह्याण्डलमार्फत सार्स–कोभ–२ को तीन किसिमका भेरियन्ट फेला परेको र नेपालमा हाल डेल्टा मात्र पाइएको भनेको छ । साथै नयाँ किसिमको कुनै पनि भेरियन्ट भने फेला नपरेको उल्लेख गरेको छ ।






