कोरोना संक्रमणका कारण पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने
४ जेठ, रौतहट । प्रतिदिन कोरोना संक्रमितको संख्या बढेका कारण पोखरा महानगरभित्रका विद्यालयहरुमा वार्षिक परीक्षा नहुने भएको छ । महानगर शिक्षा महाशाखाले मंगलबार एक सूचना जारी गरी परीक्षा नहुने जानकारी गराएको हो ।
विश्वज्यापी रुपमा फैलिरहेको कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएकाले यसअघि भएका त्रैमासिक, अर्धवार्षिक तथा आन्तरिक मूल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्न महाशाखाले निर्देशन जारी गरेको छ ।
शिक्षा महाशाखा प्रमुख हेमप्रकाश आचार्यद्वारा हस्ताक्षरित सूचनामा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्नासमेत असार १ गतेबाट सुरु गर्न भनिएको छ ।
तर, कक्षा ८ को हकमा भने नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको निर्णय अनुसार अर्को सूचना प्रकाशन गरिने शिक्षा महाशाखा प्रमुख आचार्यले जनाएका छन् ।






