कोरोना बढेसंगै कञ्चनपुरमा निषेधाज्ञा जारी
११ चैत, रौतहट । विश्वव्यापी रुपमा फैलिएको कोरोना माहामारीका कारण नेपालमा लकडाउ गरिएको आज एक साल हुने लग्तै कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ ।
कञ्चनपुरमा मध्यरातिदेखि विभिन्न गतिविधिमा रोक लगाइएको छ । गएराति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी दिएका छन्।
महतोका अनुसार मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रसाशन कार्यालय कञ्चनपुरले धार्मिक तथा सामाजिक स्थलमा भौतिक दुरी पालना गर्ने, अत्यावश्यक बाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायात लगायतका सेवा एवं मानिसहरुको आवागमन बिहान ४ बजेदेखि बेलुका १० बजेसम्म मात्रै गर्ने, आइरहेको होली पर्व, मेला महोत्सव, जात्रा, भिडभाड हुने गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ ।
त्यस्तै, सरकारले तोकेका व्यवस्थाको उल्लंघन गरेमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भारतमा कोरोना बढेसंगै नेपाल फर्केकाहरुमा संक्रमण देखिन थालेपछि उच्च सतर्कता अपनाउँदै नाकामा आउजाउमा कडाई गर्नुका साथै शंकास्पद व्यक्तिको आरडिटी परीक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने व्यवस्था समेत सुरु गरिएको छ ।
पछिल्लो २ दिनमा भारतबाट आएको तीन जनामा कोरोना संक्रमण देखिएको छ ।






