म्यानमार आन्दोलनः एनएलडीका नेताको प्रहरी हिरासतमै मृत्यु

   २६ फाल्गुन २०७७, बुधबार ११:१३  

२६ फागुन, रौतहट । म्यानमारकी नेतृ आङ सान सू चीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताको प्रहरी हिरासतमै मृत्यु भएको छ ।

दोस्रो वरियताका नेता तथा पूर्व सांसदसमेत रहेका ज म्याट लीनको हिरासतमा भएको यातनाबाट मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

‘उहाँले आन्दोलनमा निरन्तर भाग लिइरहुनुभएको थियो’, माथिल्लो सदनका सांसद बा म्यो थेइनले भने, ‘अहिले सैनिक अस्पतालमा परिवारजनले शव बुझ्न लाग्नुभएको छ ।’

यसबारे सैनिक वा प्रहरी कसैले पनि प्रतिक्रिया दिएका छैनन् ।

म्यानमारमा सेनाले फेब्रुअरीको पहिलो दिनमै सत्ता हत्याएको थियो । उसले नेतृ सू चीलगायत नेतालाई पक्राउ गरी सत्ता हातमा लिएको हो ।

हाल सैनिक शासनविरुद्ध म्यानमारमा आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा ६० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने २ हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परिसकेका छन् ।