रौतहटमा ६ अरबका योजनाहरु अलपत्र
२३ फागुन, रौतहट । लामो समय अघिनै निर्माणको ठेक्का घोषणा भएर पनि कार्य सम्पन्न हुन नसकेका ६ अरब भन्दा बढीका योजना रौतहटमा अलपत्र अवश्थामा रहेका छन ।
२०६२ साल देखि २०७४ साल सम्मका सात वटा पुल, सिंचाई, भवन, सडक लगायत १४ वटा आयोजनाहरु अलपत्र छन । रौतहटका दुई मुख्य नदिहरु वागमती र लाल बकैया सहित अन्य खोलाहरुमा पनि बन्ने नयाँ पुलहरु अलपत्र अवश्थामा छन । रौतहटको गढीमाई नगरपालिकाको वागमती नदीमा निर्माण कार्य सुरु भएको ८ बर्ष वितिसक्दा पनि पुलको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । २०६९ असार २६ गते ३२ करोड ७६ लाख ११ हजारमा एलाइट कन्ट्रक्सन काठमाण्डौ जेभीले ६०० मिटर लम्बाई भएको दुई लेनको पुल बनाउने सम्झौता गरेर तत्कालिन भौतिक योजना मन्त्री विमलेन्द्र निधिले शिलान्यास गरेका थिए ।
एलाईट कन्ट्रक्सनले ३६ महिनामा पुलको निर्माण कार्य पुरा गर्ने लिखित सम्झौता गरेकोमा ८ बर्ष वितिसक्दा पनि पुलको निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।
यसै गरी गौर नगरपालिका ४ टिकुलियाको लालबकैया नदीमा २०७१ साल कार्तिक २९ गते तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले शिलान्यास गरेको पुल ६ वर्ष बिति सक्दा पनि बनेको छैन । २२५ मिटर लामो सो पुल १६ करोड ८६ लाखको लागतमा निर्माण हुने तय गएिको थियो । पप्पु कन्सन्ट्रकसनले २०७४ अषाढ मसान्त सम्म निर्माण सम्पन्न गर्ने भनिएको सो पुल हाल सम्म पनि अधुरो रहेको छ ।
२०६६ सालमै बागमती नदीको बडहर्वामा शिलान्यास भएको पुल पनि अधुरो रहेको छ । तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालले शिलान्यास गरेको सो पुल करिब ६७ करोडमा लुम्बिनी बिल्डर्स र पप्पु कन्स्ट्रक्सनले सयुंक्त जेभीमाले निर्माण गर्ने जिम्मा पाएको थियो ।
यसै गरी जुद्ध उच्च माध्यमिक विद्यालयको छात्रावास, हुलाकी राजमार्गको अधुरा कामहरु तथा सहरी विकास मन्त्रालयको सघन सहरी कार्यक्रम लगायतका ठुला आयोजनाहरुमा लामो समय देखि ठोस प्रगति हुन सकेको छैन । गौर चन्द्रनिगाहपुर सडक खण्डको गौर बसपार्क नजिकै रहेको बरहवा खोलाको पुलको निर्माण हुन नसक्दा दुई वर्ष देखी डाइभर्सनको प्रयोग भइरहेको छ । राजदेवी भक्त कन्स्ट्रक्सनले डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरबाट पाएको सो ठेक्काको काम समेत अलपत्र अवश्थामा छ ।
सडक डिभिजन कार्यालय अन्र्तगतको ६ वटा पुल र ३ वटा सडकको निर्माण अधुरो रहेको छ भने सघन सहरी तथा भवन निर्माण आयोजना २ हेल्थपोष्ट र १ अस्पताल निर्माणको काम ठप्प रहेको छ । यसै गरी जलश्रोत तथा सिचाई डिभिजन कार्यालयले २०७२ जेष्ठ ७ गतेनै सम्झौता गरेको भकुवा सिचाई आयोजनाको ५ पटक म्याद थप हुदा समेत कार्य सम्पन्न हुन सकेको छैन ।
सम्बन्धित निकायबाट ठेक्का लगाएर नियमित रुपमा अनुगमन एवं निरीक्षण तथा कारवाही नहुदा योजनाहरु सम्पन्न हुन नसकेको हो । यसरी रुग्न रहेका आयोजनाहरुको काम सूचारु गराउन जिल्ला प्रशासन कार्यालय रौतहटले सम्बन्धीत निकायहरुलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताए । जिल्लामा ७ वटा पुल, भवन ३ सडक ३ र सिचाई कार्यालयको १ योजनाहरु रुग्न अवश्थामा रहेको उनले बताए ।