मौलापुरमा फागुन २६ देखी मधानी महायज्ञ

   २२ फाल्गुन २०७७, शनिबार १२:५६  

२२ फागुन, रौतहट । रौतहटको मौलापुरमा हुने मधानी महायज्ञको तयारी अन्तीम चरणमा पुगेको छ ।

नेपाल सरकारको पर्र्यटकिय गन्तव्य मध्येको एक मौलापुर नगरपालिका ५ पतौरामा रहेको पुरातात्विक महादेब मन्दीरको प्राङ्गणमा हुने मधानी महायज्ञमा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी हुने आयोजकले जानकारी गराएको छ । मौलापुरमा दोश्रो पटक हुन लागेको धार्मिक मधानी महायज्ञको लागी व्यवस्थापकीय, भौतीक तयारीका कामहरु अन्तीम चरणमा पुगेको मौलापुर नगरपालिकाकी मेयर रिना साहले बताइन ।

पतौरामा जग्गा उत्खनन गर्दा ११ औं शताब्दी अघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातात्विक विदहरुलाई स्थलगत अध्ययन पश्चात गत वर्ष देखी सो स्थानमा मधानी महायज्ञको शुरुवाता गरिएको थियो । कर्णाटककाल भन्दा पहिलेको अवषेशहरु भेटिए पछि पुरातत्व विभागको टोलिले सो स्थानमा उत्खनन गरेको थियो ।

फागुन २६ देखी चैत्र ३ गते सम्म संचालन हुने महायज्ञमा शिवलिला प्रदर्शन, नेपाली तथा भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति, महोत्सव लगायतको कार्यक्रम रहेको छ । महायज्ञको बारेमा जानकारी दिदै मेयर साहले महायज्ञले यस क्षेत्रको बिकास र पर्यटन प्रर्बद्धनमा महत्वपुर्ण भुमिका खेल्ने बताएकी छिन ।

सो मधानी महायज्ञमा नेपाल र भारतका गरेर ५ लाख भन्दा बढी श्रद्धालु भक्तजनहरु दर्शन गर्ने लक्ष्य राखिएको जानकारी दिदै सोका लागि खानेपानी, विद्युत, सरसफाई, अस्थायी प्राकृतिक शौचालयको कार्य सम्पन्न भईसकेको र सिसिटिभी क्यामरा जडान गरेर सुरक्षाको प्रवन्ध मिलाइएको जानकारी आयोजकले गराएको छ ।

कार्यक्रमका लागी स्थानिय किसानको गँहु बालि मासेको आरोपको खण्डन गर्दै नगरपालिकाले किसानको सहमतिमै मुआवजा पश्चातमात्र मेलाको लागी जग्गा खाली गरेको मेयर साहले बताइन । स्थानिय किसानहरुले पनि बालीको मुआवजा रकम प्राप्त गरेको बताएका छन ।