इन्डोनेशियाको एक गाउँमा बाढी पस्दा पुरा पानी रातो

   २५ माघ २०७७, आईतवार ११:०८  

२५ माघ, रौतहट । इन्डोनेशियाको एउटा गाउँमा कपडामा रङ्ग लगाउने कारखानामा बाढीको पानी पसेपछि पुरा गाउँनै रातो पानीमा डुबेको छ। सो क्षेत्र बाटीक भनिने परम्परागत कपडामा रङ्ग भर्ने कार्यको लागि प्रख्यात छ।

शनिवार जाभामा रहेको जेन्ग्गट गाउँमा बाढी पस्दा सबै पानी नै रगत जस्तो देखिएको हो।

‘यो रातो पानी बाटीक कारखानाका कारण भएको हो,’ स्थानीय अधिकारी दिमस अर्गा योधाले रोयटर्स समाचारसंस्थालाई बताए। ‘वर्षाको पानीसँग मिसिएपछि केही समयपछि यो हराउँछ।’

सो क्षेत्रमा नदीहरूको पानी पनि बाटीक कारखानाले प्रयोग गर्ने रङ्गका कारण कहिलेकाहीँ फरक रङ्गका देखिने गरेका थिए।

गत महिना त्यहाँको नदीमा चहकिलो हरियो रङ्गको पानी बगेको रोयटर्सले जनाएको छ। इन्डोनेशिया बाढीले धेरै प्रभावित हुने देशमध्ये हो।