बाढी पहिरो पीडितलाई विद्यालय भवनमा राखिने

   २८ असार २०७७, आईतवार ०५:२५  

असार २७, रौतहट । अविरल वर्षापछि आएको बाढी पहिरो पीडितहरूलाई उद्धार गरी सार्वजनिक भवन तथा विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले शनिबार सरोकारवालासँग बाढी, पहिरो पीडितहरूको उद्धारबारे छलफल गरेको हो ।

तत्काल उद्धार, राहत र पुर्नस्थापनाका विषयमा सरोकारवालाहरूसँग छलफल गरेको परिषद्का कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । प्राकृतिक विपद्बाट पीडितहरुलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरुमा पुर्नस्थापना गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरू सहभागी थिए ।

गृह मन्त्रालयका अनुसार शुक्रबार दुई वटा बाढी र चार पहिरोमा परेर २३ जनाको ज्यान गएको छ भने ३६ जना बेपत्ता छन् ।