संसद विघटनविरुद्ध आज कांग्रेसले ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै
२५ पुस, रौतहट । संसद विघटनको विरोध गर्दै आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको छ ।
यही पुस ५ गते नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै कांग्रेसले शनिबार प्रदेशसभाको सबै निर्वाचन क्षेत्रमा प्रदर्शन र विरोधसभा गर्न लागेको हो ।
काठमाडौँ कांग्रेस केन्द्रीय कार्यालयले दिएका जानकारी अुसार देशभर ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेकोमा प्रदर्शनलाई सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्रका नेताहरूले सम्बोधन गर्ने छन् ।
यही पुसको १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेअनुसार कांग्रेसले प्रदर्शन गर्न लागेको हो।
सोही बैठकले आगामी माघ ३ गते शनिबार देशैभरका ७५३ पालिकाहरूमा र माघको ८ गते ६ हजार ७४३ वडाहरूमा विरोध प्रदर्शन तथा सभाको आयोजना निर्णय गरेको छ ।