संसद विघटनविरूद्ध परेका रिटमाथि सुनुवाइ हुँदै

   २२ पुष २०७७, बुधबार १२:४७  

२२ पुस, रौतहट । संसद विघटनविरुद्ध परेका मुद्दामाथि सर्वाच्च अदालतको संवैधानिक इजलासमा सुनवाई सुरु भएको छ ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा सुनुवाइका लागि सबै न्यायाधीशहरू इजलासमा उपस्थित भइसकेका स्रोतले जनाएको हो ।

संसद विघटनविरूद्ध परेका दर्जन बढी मुद्दाको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेका छन् ।

राणाले गठन गरेको इजलासमा यसअघि यही पुस १० गतेको इजलासमै भएका न्यायाधीशहरू छन् ।

संवैधानिक इजलासको रोष्टरमा भएका १४ जनामध्ये प्रधानन्यायाधीश राणाले न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई इजलासका लागि छानेका स्रोतले जनाएको छ ।