कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु

   २१ पुष २०७७, मंगलवार १४:०३  

२१ पुस, रौतहट । कोरोना संक्रमणका कारण बाँकेमा उपचाररत तीन जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा एकजना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना गरी थप तीन जनाको संक्रमणबाट मृत्यु भएको हो ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक ६८ वर्षीय वृद्धको मृत्यु भएको छ । यही पुस ९ गते उनमा कोरोना पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएकै दिन उपचारका लागि भेरी अस्पतालमा भर्ना भएका ती संक्रमित वृद्धको सोमबार गएराति करिब १२ः२५ बजेतिर मृत्यु भएको अस्पतालका स्रोतले जानकारी दिए ।

यस्तै, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दाङको घोराही उपमहानगरपालिका–१८ बस्ने १३ वर्षीय बालकको उपचारका क्रममा आज बिहान करिब ७ः४५ बजेको समयमा मृत्यु भएको छ ।

यही पुस १९ गते स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि शिक्षण अस्पतालमा भनाई भइ पीसीआर परीक्षण गराउँदा उनमा पुस २० गते कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी, कञ्चनपुरको महेन्द्रनगर–५ का ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बिहान ७ः२० बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनी १७ पुसमा अस्पताल भर्ना भएका थिए ।

त्यसको भोलिपल्ट कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।