नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे बस्दै
७ पुस, रौतहट । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको केन्द्रीयी समितिको बैठक बदलिँदो राजनीतिक परिस्थितिबारे आज बस्दै छ ।
मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको स्रोतले जनाएको हो ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार गरेको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरी २०७८ बैशाख १७ गते र २७ गते गरी दुई चरणमा मध्यावधि निर्वाचनको मिति घोषणा गरेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले यसअघि नै ओलीको कदम गलत भएको प्रतिक्रिया सार्वजनिक गरिसकेका छन् । कांग्रेसका युवा नेता गगन थापालगायतका नेताहरुले यस्तो अवस्थामा कांग्रेसले सशक्त प्रतिरोध गर्नुपर्ने आवाज पनि उठाउँदै आएका छन् ।
यसअघि कांग्रेसको आयोजनामा सोमबार बसेको प्रमुख तीन दलको संयुक्त बैठकले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै त्यसको विरोध गर्ने निर्णय गरेको थियो ।