पूर्वराजदूत कमानसिंहको कोरोनाका कारण निधन
२५ मंसिर, रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रर्वराजदूत कमानसिंह लामाको निधन भएको छ । लामालाई करिब २० दिनअघि कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको थियो ।
संक्रमण भएपछि उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । उपचाररत लामाको त्रिवि शिक्षण अस्पतालमा गएराति निधन भएको काभ्रेका नेकपा नेता इन्द्रबहादुर थिङदे जानकारी दिए ।
कोरियाका लागि नेपाली राजदूत समेत भएका लामा काभ्रे जिल्लाका पुराना कम्युनिस्ट नेता हुन् । ६८ वर्षीय लामा २०४८ सालको आम निर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चाबाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए । सोही पार्टीबाट २०५६ सालको आम निर्वाचनमा पनि उम्मेदवार बनेका थिए ।
तत्कालीन एकता केन्द्र मशालमा रहेका लामा २०६५ मा नारायणकाजीको नेतृत्वमा रहेको पार्टी तत्कालीन माओवादीमा मिसिएपछि माओवादी पार्टीमा एकीकृत भएका हुन् । पूर्व–एमाले र माओवादी मिलेर नेकपा बनेपछि उनी केन्द्रीय सदस्य बनेका थिए ।






