रौतहटको लालबकैया नदीमा तीन बालबालिका बेपत्ता
२६ साउन, रौतहट । रौतहटको लालबकैया नदीमा नुहाउन गएका तिन बालबालिका पानीमा डुबेर बेपता भएका छन ।
रौतटहको देवाही गोनाही नगरपालिका वडा नं. २ लक्ष्मिनिया स्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका हुन ।
बेपत्ता हुनेमा देवाही गोनाही नगरपालिका वडा नं. २ लक्ष्मिनिया बस्ने शेख अमरे आलमका १० वर्षीय छोरा मो. रहमतुल्लाह, शेख खुरसेदका १० वर्षीय छोरी रौशन खातुन र शेख ओसि अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन ।
आज दिउँसो करिब २ बजे नदीमा नुहाउन पसेका एक बालक र दुई बालिका समेत तिनै जना बेपता भएको खबर प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अहिले खोज तलाशको काम गरिरहेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ ।
घटनापछि सशस्त्र प्रहरी सुरक्षा बेस देवाहीबाट ७ जना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट ९ जनाको टोली खोजी तथा उद्धारका लागि परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटबाट रबर बोटसहित ९ जनाको डाइभिङ तथा खोजी टोली समेत घटनास्थलमा खटाइएको सशस्त्र प्रहरी उपरिक्षक रामहरी अधिकारीले बताए ।






