धनुषामा एक व्यक्तिको घाँटी रेटेर हत्या, अनुसन्धान जारी
१५ श्रावण, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–१२ स्थित रघुनाथपुर नहरचोकमा रहेको शिव–हनुमान मन्दिरमा एक व्यक्तिको घाँटी रेटेर हत्या गरिएको छ।
मृतक धनुषाको हँसपुर नगरपालिकाका करिब ४५ वर्षीय बन्ठु राउत रहेको खुलेको छ। उनी करिब १५ वर्षदेखि उक्त मन्दिरमा बस्दै आएका थिए। बीच–बीचमा रोजगारीका लागि भारत जाने र फेरि मन्दिरमै फर्केर बस्ने गरेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार, गएराति अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी उनको हत्या गरेका हुन। घटनास्थलमा धेरै रगत देखिएको र मृतकले बच्न प्रयास गरेको संकेत देखिएको बताइएको छ।
सबैला नगरपालिकाका मेयर कारीराम यादवले घटनास्थल निरीक्षणपछि मन्दिरभित्र रगत छरिएको अवस्था रहेको र धारिलो हतियार प्रयोग गरी हत्या गरिएको पुष्टि गरेका छन्।
स्थानीयले केही दिनअघि मात्रै भारतबाट फर्किएका राउतसँग रहेको रकम लुट्ने उद्देश्यले हत्या गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। यद्यपि, प्रहरीले घटनाको कारणबारे आधिकारिक रूपमा केही जनाएको छैन।
घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। हत्या कसले र किन गर्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
राउत मन्दिरमा मात्र बस्दै आएका थिए । उनी कुनै पूजारी नरहको बताईएको छ । उनलाई मन्दिर परिसरको कुट्टिमा हत्या भएको हो । धनुषा प्रहरीले डग टोली परिचालन गरेको छ ।






