भरुवा बन्दुकसहित घलान पक्राउ
१२ जेठ, बरहथवा । प्रहरीले भरुवा बन्दुकसहित एकजनालाई नियन्त्रणमा लिएकाे छ ।
इलाका प्रहरी कार्यालय बरहथवा तथा इलाका प्रहरी कार्यालय हिरापुरकाे संयुक्त प्रहरी टोलीले बरहथवा नगरपालिका-१२, लौकठ टोलबाट बागमती नगरपालिका-२, सुकुम्बासी टोल निवासी गोपी घलानको छाेरा ३८ वर्षीय बुद्धीमान घलानलाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । अपरिचित मानिसहरु भरुवा बन्दुकसहित हिडडुल गरीरहेको भन्ने सूचना प्राप्त हुनासाथ परिचालन भएकाे प्रहरी टाेलीले मंगलबार बिहान २ बजे घलानलाई नियन्त्रणमा लिएकाे हाे ।
घलानकाे साथबाट भरुवा बन्दुक १ थान, सोही बन्दुकमा फलामको रड १ थान, प्लाष्टिकको डब्बा भित्र रहेकाे कालो रंगको धुलो पदार्थ ३५ ग्राम, स्टिलको डब्बा भित्र रहेकाे १४० ग्राम कालो रंगको धुलो पदार्थ, साईकलमा प्रयोग हुने फलामको बल ८० थान र फलामको रडको टुक्रा ५ थान बरामद् भएकाे प्रहरीले जनाएकाे छ ।
गस्ती टाेली देख्नासाथ समुहमा रहेका अन्य व्यक्तिहरु फरार भएपनि घलानलाई भने पक्राउ गर्न सफल भएकाे प्रहरीकाे भनाई छ । पक्राउ परेका घलानलाई हातहतियार खरखजाना सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय बरहथवाले कारबाही प्रकृया अगाडी बढाएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनायाे । फरार रहेका व्यक्तिहरुकाे खाेजतलास भइरहेकाे प्रहरीले जनाएकाे छ ।






