बागमती नदीमा डुबेर दुई युवक बेपत्ता, खोजी कार्य जारी
१० जेष्ठ, रौतहट । बागमती नदीमा शनिबार नुहाउने क्रममा दुई युवक डुबेर बेपत्ता भएका छन्। पाँच जनाको समूहमा नदीमा नुहाउन गएका मध्ये दुईजना नदीको गहिरो भागमा पुगेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ निवासी गणेश महतो र वडा नम्बर ५ निवासी रोशन महतो रहेका छन्। पाँच जनाको समूहसँग नदीमा गएका उनीहरू नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्। स्थानीयका अनुसार ती युवकहरू महेन्द्र राजमार्गभन्दा करिब तीन किलोमिटर उत्तरतर्फ मकवानपुर र सिन्धुलीको सीमाबाट बग्ने बागमती नदीमा नुहाउन गएका थिए। सो क्रममा उनीहरू नदीमा डुबेका हुन्।
घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य सुरु गरिएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रूपा लावुङका अनुसार रौतहट र सर्लाहीका प्रहरी टोली संयुक्त रूपमा बेपत्ता युवकहरूको खोजीमा जुटेका छन्।






