रौतहटमा विद्यालयको रकम हिनामिना गर्ने प्रधानाध्यापक पक्राउ
१८ मंसिर, रौतहट । विद्यालयको खातामा रहेको रकम हिनामिना गरेको आरोपमा चन्द्रपुर नगरपालिकामा रहेको श्री आधुनिक प्राथमिक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन ।
चन्द्रपुर नगरपालिकाले राजपैडामा रहेको श्री आधुनिक प्राथमिक विद्यालयमा ४ कोठे पक्की भवन निर्माणका लागी चन्द्रपुर नगरपालिकाले विद्यालयको खातामा ४७ लाख ७५ हजार रुपैंया पठाएको थियो । भवन निर्माणका लागि विद्यालयको खातामा रहेको कुल ५३ लाख ९८ हजार को कार्यादेश सहित ब्रह्म बाबा कन्सट्रक्सनसंग ठेक्का सम्झौता गरेको थियो ।
चन्द्रपुर नगरपालिकाको विशेष अनुदानबाट भवन निर्माणका लागी बैंक खातामा रकम पठाएपछि निर्माण सम्पन्न भए पश्चात भुक्तानी गर्नका लागी नगरपालिकाले रकम रोक्का राखेको थियो ।
ब्रह्म बाबा कन्सट्रक्सनसंग ठेक्का सम्झौता पछि प्राविधिक नाप जाँच पश्चाता पहिलो रनिङ बिल भरपाइएको आधारमा २० लाख १० हजार पाँच सय रुपैया भुक्तानीका लागी पत्र पठाएको थियो । निर्माण कम्पनीले बैंकबाट रकम निकाले पछि विद्यालयका प्रधानाध्यापक किशोर चौधरीले चन्द्रपुर नगरपालिकाको सोही पत्रहरुमा किर्ते हस्ताक्षर गरेर ब्रह्म बाबा कन्ट्रक्सनले भुक्तानी पाउने गरी रोक्का रहेको २९ लाख ३५ हजार रुपैंया झिकेर हिनामिना गरेका थिए ।
विद्यालयको खातामा रहेको रकम निकाली हिनामिना गरेका प्रधानाध्यापक चौधरीलाई लिखत सम्बन्धी कसूर अन्र्तगत मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद थप लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक रायले बताए ।






