सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या
१० असोज, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गएराती एकजना युवकले आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् । उनको गोली प्रहारबाट उनको बुबा समेत घाईते भएका छन् ।
स्थानीय हरिपुर्वा नगरपालिका -५ घर भएका ३० वर्षीय धिरेन्द्र राय यादवले प्रहार गरेको गोली लागेर उनको श्रीमती २५ वर्षीया चित्रलेखा राय यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
गोली लागेर उनको बुबा ५३ वर्षीय दिनेश राय यादव समेत घाइते भएका छन । श्रीमतीको टाउकोमा र बाबुको दाहिने हातमा गोली प्रहार गरिएको छ । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । हत्याका आरोपी धिरेन्द्र फरार रहेको तथा उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
केहीसमय अघि यादव बैदेशिक रोजगारबाट फर्केपछि पारिवारिक विवादका कारण यो घटना भएको बताइएको छ । घटना पछि आरोपी युवक र उनीसँग आएका गरी तीनैजना फरार भएका छन् ।
घटनाबारे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट डिएसपी दीपक श्रेष्ठको नेतृत्वमा २० जनाको टोली आज बिहान घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार घटनामा सानो हतियारको प्रयोग भएको छ । उक्त हतियारको दुई राउण्ड खोका र एक राउण्ड मिस फायर भएको गोली फेला परेको छ ।
घटनास्थल हरिपूर्वा प्रहरी चौकीबाट करिब एक किलोमिटर र जिल्ला प्रहरी कार्यालयबाट करिब १४ किलोमिटरको दुरीमा पर्दछ ।






