मधेश प्रदेशको लगातार दोश्रो हार, ४० रनमै अलआउट

   ६ पुष २०८०, शुक्रबार १६:०४  

०६ पुस, काठमाडौँ । प्रधानमन्त्री कप महिला क्रिकेटमा सशस्त्र प्रहरी बल-एपीएफ क्लबले मधेश प्रदेशलाई १० विकेटले हरायो । पहिला ब्याटिङ गरेको मधेश प्रदेशलाई ४० रनमा समेट्दै एपीएफले जितको आधार बलियो बनाएको थियो ।

मधेश प्रदेशले १९.२ ओभरमा सबै विकेट गुमाएर ४० रन मात्र जोड्न सक्यो । उसका ५ जना ब्याटरले खाता खोल्न सकेनन् । प्रतिमा शाहले १५ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । एपीएफकी सिता रानामगरले ३ तथा रेखा रावल र सुमन विष्टले २/२ विकेट लिए ।
ओपनर एलिसा यादब खाता खोल्नुअघि नै पेभेलियन फर्किएकी थिइन् । अर्की ओपनर सना प्रविन पनि तीन रनभन्दा अगाडि बढ्न सकिनन् । पूजा महतो शून्य रनमै आउट भइन् ।

सरस्वती कुमारीले सात रन बनाइन् । रोजी कडारी शून्य रनमै आउट भइन् । आरती महतो र भूमी सिंहले पाँच–पाँच रन बनाए । साक्षी यादव शून्य रनमा आउट भइन् । कप्तान कविता गौतमले एक रन बनाइन् । मीना महतो शून्य रनमा अविजित रहिन् ।

एपीएफले झिनो लक्ष्य ५.५ ओभरमा पुरा गर्यो । उसका सिता रानामगरले १९ र ज्योती पान्डेले १६ रन बनाए । प्रतियोगितामा २ खेलपछि एपीएफ र कोशी प्रदेशको ४/४ अंक छ । सुदूरपश्चिम प्रदेश, गन्डकी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशले २/२ अंक जोडेका छन् । मधेश र कर्णाली प्रदेशले लगातार दोस्रो हार ब्यहोरेका हुन् ।

मधेश प्रदेशले अतिरिक्त रुपमा चार रन पायो । एपीएफ क्लबकी बलर सीता रानामगरले तीन विकेट लिइन् । रेखा रावल र सुमन बिष्टले पनि एक–एक विकेट हात पारे । इन्दू बर्माले एक विकेट लिइन् ।