म्याच फिक्सिङ आरोपमा क्रिकेटर आलम र अन्सारी पक्राउ

   ९ माघ २०७९, सोमबार १४:२८  

९ माघ, रौतहट । नेपाल टी २० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा पूर्व क्रिकेटर मेहबुब आलम र क्रिकेटर आदिल अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य समेत रहेको आदिल अन्सारी तथा पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई पक्राउ  गरिएको केन्द्रीय अनुन्धान ब्युरोका एकजना प्रहरी अधिकृतले जानकारी दिए ।

आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ ।

पक्राउ परेका अन्सारीले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले जनकपुर रोयल्सबाट नेपाल टी–२० लिग खेलेका थिए ।

उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ ।