ललितपुरमा तीन महिलासहित थप चार कोरोना संक्रमितको मृत्यु

   ३ आश्विन २०७७, शनिबार १५:२२  

३ असोज, रौतहट । ललितपुरमा तीन महिलासहित थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरका २ जना तथा सर्लाही र भक्तपुरका १र१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

मृत्यु हुनेमध्ये सर्लाहीका ६० वर्षका पुरुष छन् । पाटन अस्पतालमा उपचारका लागि भदौ २६ गते भर्ना भएका उनको शुक्रवार मृत्यु भएको हो । त्यस्तै मृत्यु हुनेमा ललितपुरका २ महिला छन् । उनीहरु दुबैको पाटन अस्पतालमा मृत्यु भएको हो ।

जसमध्ये भदौ २० गते उपचारका लागि भर्ना भएकी ७६ वर्षकी महिला र भदौ २५ गते उपचारका लागि भर्ना भएकी ६८ वर्षकी महिला छन् । उनीहरुको पनि शुक्रवार नै मृत्यु भएको हो

त्यस्तै भक्तपुरकी ९० वर्षकी महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । ललितपुरको मेघा अस्पतालमा उपचारका लागि असोज १ गते भर्ना भएकी उनको शनिवार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।