फितलो सुरक्षा व्यवस्था, भद्रगोल निर्वाचन

   ३० बैशाख २०७९, शुक्रबार २३:०४  

३० बैशाख, रौतहट । आज भएको स्थानिय तहको निर्वाचनमा क्रममा रौतहट दिनभर तनावग्रस्त रहयो ।

रौतहटको फतुवा विजयपुरमा उम्मेदवार पक्षहरु बिच विवाद भएर झडप शुरु भए पछि प्रहरीले हवाई फायर ग¥यो । रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा उम्मेदवारहरुका समर्थक बिच विवाद उत्पन्न भएर झडप हुदा १५ जनाको टाउको फुटेको थियो ।

यसैगरी गढीमाई ६ सिंगारवनमा नेकपा एसका वडा अध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकलमा विपक्षीहरुले आगजनि गरेर ध्वस्त बनाए । रौतहटको बौधिमाइ नपा २ इनरवामा र ४ ईनरवारीमा पनि झडप भयो । मतदान केन्द्रमा प्रर्दशनकारीले मतपेटिका फुटाएका थिए ।

गुजरा नगरपालिका वडा नं. ७ फतुवा बुथमा पनि मतपेटिका तोडफोड भएको थियो । माधवनारायण नपा २ खेसरहियामा रहेको सरस्वती मावि मतदानकेन्द्रमा दिनभर विवाद भएको थियो । राजनितिक दलका कार्यकर्ताहरुले मतदान अधिकृत सन्जीव साह कलवारलाई कुटपिट गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।

यि सबै घटनामा प्रहरीको कमजोर निगरानी र कार्यदक्षताको कमी देखिएको थियो । प्रहरी प्रशासनले निर्वाचनलाई व्यवस्थीत बनाउन नसकेको उम्मेदवारहरुले आरोप लगाएका छन । “प्रहरी प्रशासनले निर्वाचन सुरक्षा योजना बनाएकै देखिएन ।” नेकपा एमालेका नेता प्रभु साहले भने “मतदान केन्द्रहरुको सुरक्षा व्यवस्था गर्न प्रशासन असफल भयो । सामान्य विवाद पनि मिलाउन नसक्ने र मतपेटिका फुटाउदा, लुटदा समेत प्रहरी मुखदर्शक बन्यो ।”

रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले भने प्रहरी प्रशासनको कमजोरी नभएको बताए । “यमुनामाईमा मत पेटिका लुटेको भन्दा पनि त्यहाँ मतदान स्थगीत हुने भएपछि सुरक्षा व्यवस्था अलि फितलो भएको बेला केही युवकहरुले मतपेटिका लिएर भाग्न खोजेका थिए ।” प्रमुख जिल्ला अधिकारी शाहीले भने “प्रहरीले लगतै ती मतपेटिकाहरु नियन्त्रणमा लिएको थियो ।”

अहिले पनि रौतहटको फतुवा विजयपुरमा झडप भइरहेको छ । प्रहरीले रौतहटमा दुई दर्जन बढी हवाई फायर गरेको छ भने ८ राउण्ड भन्दा बढी अश्रुग्यास प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरी तर्फ पनि १२ जना भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी सुनिल मल्लले बताए ।