सर्लाहीको लालबन्दीमा पुलबाट बस खस्दा ४ जनाको मृत्यु
१३ चैत, सर्लाही । सर्लाहीको लालबन्दीस्थित फुलजोर खोलाको पुलबाट बस खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका १७ स्थित फुलजोर खोलाको पुलबाट आज ना.४ ख ८५५५ नम्बरको सूर्यलोक यात्रुबाहक बस खस्दा ४ जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा धेरै मानिस घाइते भएको प्रहरीले जनाएको छ ।
वीरगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको बस अनियन्त्रित भई पुलबाट खसेको प्रहरीले जनाएको छ । घाइतेहरुको लालबन्दिको विभिनन स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका चारै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको सर्लाहीको प्रहरी प्रवक्ता तथा डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । हाल मृतकको पहिचान हुन सकेको छैन् ।
अचानक बसको चक्का पड्किएर पुलबाट बस खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
विस्तृत विवरण आउन बाँकी रहेको छ ।






