सवारी दुर्घटनामा परेर छोराको मृत्यु, बुवा उपचाररत

   १५ फाल्गुन २०७८, आईतवार १४:४५  

१५ फागुन, कपिलवस्तु । ट्रक र मोटरसाइकल आपसमा ठोक्किदाँ कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर बुद्धभूमि नगरपालिका १ का २८ वर्षीय माधव अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको वाणगंगा नगरपालिका १ बुङ्ची चोकस्थित सडकमा आज बा.३ ख ९८३० नम्बरको ट्रकले लु.३२ प ४८३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

सोही मोटरसाइकलको पछाडि सवार भएका मृतकको बुवा ४८ वर्षीय धर्मराज अधिकारी घाइते भएका छन् । घाइते भएको उनलाई उपचारका लागि सामुदायिक अस्पताल कपिलवस्तुमा भर्ना गरिएको छ ।

ठक्कर दिने ट्रकसहित चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान प्रहरीले सुरु गरेको छ ।