चामलसहित रौतहटबाट एक जना पक्राउ
११ फागुन, रौतहट । भन्सार छलेर ल्याएको चामलसहित रौतहटबाट एक जना पक्राउ परेका छन् ।
भारतबाट अवैध रुपमा ल्याएको चामलसहित एक जनालाई आज ४:३० बजेतिर गौर नगरपालिका वडा नम्बर १ नेपाल लजको अगाडीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले प्रदेश २-०३-००१ च-२१३८ नम्बरको पिकअपमा लोड गरी नेपाल भित्र्याउदैँ गरेको अवस्थामा गाडीसहित चालक गौर नगरपालिका वडा नम्बर ७ का ३९ वर्षीय चन्दन पाण्डेलाई हिरासतमा लिएको हो ।
प्रहरीका अनुसार बुधबार बरामद भएको १५० वटा चामलको बोराको मूल्य करिब १५ लाख २५ हजार बराबर रहेको छ । बरामद गरिएको चामलसहित गाडीलाई आवश्यक कार्यवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको छ ।
पक्राउ परेका पाण्डेमाथि यसबारे आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






