थप ४७६ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

   १० फाल्गुन २०७८, मंगलवार १७:२५  

१० फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ सय ९९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, यो अवधिमा २ हजार ८२० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ७७ जनामा एन्टिजेन संक्रमण देखिएको छ । आज थपिएका संक्रमितहरुसंगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ११ लाख १४ हजार ७ सय २१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, बितेको २४ घण्टामा थप ८ सय ३१ जना कोरोनामुक्त भएका छन् । यससहित हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ५३ हजार ४३० पुगेको स्वास्थय मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ९ सय २८ पुगेको छ ।