लागुऔषधसहित वीरगञ्जबाट एक भारतीय पक्राउ

   ३ फाल्गुन २०७८, मंगलवार १०:३७  

३ माघ, पर्सा । पर्साको वीरगञ्जबाट लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

लागूऔषधसहित पक्राउ पर्नेमा भारत विहारको मोतिहारी थाना रामगढवा १४ का २२ वर्षीय जगतकुमार कुशवाहा रहेको प्रहरीले जनाएको छ । सवारी चेकजाँच गर्ने क्रममा प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले सोमबार बिहान ९:३० बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डकचोकस्थित सडक खण्डबाट उनलाई हिरासतमा लिएको हो ।

शंकास्पद अवस्थामा हिंडिरहेका उनलाई रोकी चेकजाँच गर्ने क्रममा निजले बोकेको झोला भित्र लुकाइछिपाइ ल्याएको एनुर्फिन, डाइजीपाम र फेनारगन ३ सय एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका उनीमाथि लागूऔषध बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।