नेपालमा आजबाट रेल चल्ने

   १ फाल्गुन २०७८, आईतवार ११:२३  

१ फागुन, रौतहट । जयनगर-कुर्था रेलमार्गमा आजदेखि रेल चल्ने भएको छ ।

तत्कालका लागि यात्रु बिनाको रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । झाका अनुसार आइतबारदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको हो ।

भारतीय कम्पनी कोंकणसँग नेपाल सरकारले ८६ करोड रुपैयाँमा दुई सेट डेमो रेल खरि गरिएको रेल जनकपुरदेखि जयनगरसम्म रेल चलाउन लागिएको हो । औपचारिक रूपमा रेल उद्घाटन गरेपछि मात्रै यात्रु बोक्न थालिने झाले जानकारी दिए ।

अहिले सर्वसाधारणलाई सचेतनाका लागि रेल चलाउन लागिएको छ । दिनमा एक पटक रेल चलाउने तयारी छ । अहिले प्रत्येक स्टेशनमा इन्टरनेट, टेलिफोन, सञ्चार सुविधालगायतका व्यवस्थापन भइरहेको पनि झाले बताएका छन् ।

आजदेखि लिकमा हाटबजार र आवतजावतमा रोक लगाइएको छ । पशु तथा छाडा चौपाया रोक्न पनि सम्बन्धित पालिकामार्फत निर्देशन दिइएको छ । अनुमति बिना रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ ।