करेन्ट लागेर सर्लाहीमा एक जनाको मृत्यु
२९ माघ, सर्लाही । करेन्ट लागेर आज सर्लाहीमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बागमती नगरपालिका ८ का २५ वर्षीय रामु महतोको करेन्ट लागेर मृत्यु भएको छ भने सोही स्थानका २१ वर्षीय दीपककुमार महतो गम्भीर घाइते भएका छन् ।
नगरपालिकाको वडा नम्बर २ बस्ने कुमार परियारको घरको छत ढलानको लागि रड सेटिङ गर्ने क्रममा घर छेउमा रहेको बिजुलीको तारमा रडले छुदा दुवै जनालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर सिकिस्त भएका दुवै जनालाई स्थानीय अस्पतालमा लगिए पनि चिकित्सकले राम महतोलाई मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । घाइते भएका अन्य एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।






