सवारी दुर्घटना हुँदा कलैयामा २ जनाको मृत्यु

   १३ माघ २०७८, बिहीबार ११:३४  

१३ माघ, बारा । बारामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

भारतीय नम्बरप्लेटको जीपको ठक्करबाट कलैया उपमहानगरपालिका २५ मा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर ज्यान गुमाउनेमा कलैया उपमहानगरपालिका ५ का ४० वर्षीय नरेश साह र ५५ वर्षीय शीतल साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

जीपको ठक्करबाट ना८प ८८ ६३ नम्बरको मोटरसमइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरूको उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।

कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको भारतीय नम्बरप्लेटको जीपले सोही विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई बुधबार राति ८ः३० बजेतिर ठक्कर दिएको थियो ।

घटना पश्चात् फरार भएको जीप चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।