प्लाष्टिक उद्योगमा आगलागी हुँदा करोडौँको क्षति

   २७ पुष २०७८, मंगलवार १२:५४  

२७ पुस, धनुषा । धनुषामा सोमबार गएराति एक प्लाष्टिक उद्योगमा आगलागी हुँदा करोडौँ क्षति भएको छ ।

जिल्लाको लक्ष्मीनिँया गाउँपालिका वडा नम्बर ७ भगवतीपुरस्थित नवल मुररकाको जानकी प्लाष्टिक उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ ।

उद्योगमा विद्युत सर्ट भई हिजो राति आगलागी हुँदा मेसिन, मेटेरियल सामान, कच्चा पदार्थ, केमिकल, काठपात, लत्ताकपडा लगायत अन्नपातसमेत पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको भन्ने खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनिँयाबाट खटिएको प्रहरीले दमकल र स्थानीयहरुको सहयोगमा आगोलाई रातिनै नियन्त्रणमा लिएको थिए ।

आगलागीबाट करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।