पाहुनाको हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ

   २७ पुष २०७८, मंगलवार १०:५१  

२७ पुस, मोरङ । पाहुना हत्या आरोपमा मोरङबाट एक वृद्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाको लेटाङ नगरपालिका २ फडानीमा अन्दाजी ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या अभियोगमा ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

सोमबार बुढाथोकी पक्राउ परेका भुजेलको घरमा पाहुना आएका थिए । श्रेष्ठका अनुसार सोमबार बेलुका भुजेलको आगन अगाडिबाट वृद्धले शव घिसारेर घर नजिकैको बाँसघारी तर्फ लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव देखिएको सूचना पाएलगत्तै घटनास्थलमा प्रहरीको टोली पुगेको थियो । मृतकको टाउकोमा बन्चरोले प्रहार भएको देखिएको प्रहरीले जनाएको छ ।

हिजो बेलुका मृतक र हत्यारासँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन् । मदिरा सेवनपछिको विवादका कारण हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले बताएको छ ।

पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।