मंगलबार देखि माघ १५ सम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय
२६ पुस, रौतहट । कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको कारण सरकारले पुस २७ गतेदेखि अगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने भन्दैँ आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको बैठकले निर्णय गरेको हो ।
कोरोनाको जोखिमलाई मध्य नजर गर्दै मन्त्रालयले विद्यार्थीहरुको स्वास्थ्य, सुरक्षा तथा बचावटका लागि देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुमा वार्षिक विदामा मिलान हुनेगरी पुस २७ (मंगलबार) देखि माघ १५ गतेसम्म विदा दिने निर्णय गरिएको सूचना जारी गरेको छ ।
यस्तै, विद्यालय विदाको अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई नजिकैको खोप केन्द्रमा गई (कोभिड १९) विरुद्धको खोप लगाउन समेत अभिभावकहरूलाई अनुरोध गरेको छ ।






