शिकार गर्ने क्रममा गोली लागेर युवकको मृत्यु

   २६ पुष २०७८, सोमबार १२:००  

२६ पुस, स्याङजा । गोली लागेर स्याङजामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आँधिखोला गाउँपालिका वडा नम्बर १ कालिखर्कका २७ वर्षीय मनोज विकको रहेको प्रहरीले जनाएको छ ।

कालिखर्क जंगलमा पुस २० गते राति कालिजको शिकार गर्ने क्रममा गोली लागेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनापछि फरार भएका ६ जनालाई आइतबार पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा आँधिखोलाका भीमबहादुर सुनार, सोही ठाउँकै सुनिल विक, रेवत पौडेल र धनबहादुर विकरहेका छन् । सोही स्थानका गोविन्द अधिकारी र साजन कामीलाई बुटवल बसपार्कबाट हिरासतमा लिएको स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।