वीरगञ्जमा करेन्ट लागेर दुई जना घाइते
२५ पुस, पर्सा । पर्साको वीरगञ्जमा करेन्ट लागेर दुई जना घाइते भएका छन् ।
करेन्ट लागेर घाइते हुनेमा वीरगञ्ज महानगरपालिका २४ रामगढवाका ३८ वर्षीय शर्मा पटेल र वडा नम्बर १६ नगवा निवासी ४० वर्षीय राजेन्द्र पटेल रहेको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।
वीरगञ्ज ९ रानीघाटस्थित कमल रौनियारको घर बनाउने काममा खटिएका शर्माको हातमा र राजेन्द्रको पिठ्युँमा करेन्ट लागेको खनालले जनाए । घरको छतबाट फलामको रड तल झार्ने क्रममा एक हजार भोल्टको बिजुलीको तारमा छुन करेन्ट लागेको दुवै जनाको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।
दुवै जनाको उपचार वीरगञ्जको नारायणी अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






