वीरगञ्जमा एक भारतीय नागरिकको शव फेला
२३ पुस, रौतहट । पर्साको वीरगञ्जमा एक भारतीय नागरिकको शव फेला परेको छ ।
भारतको कलकत्ता घर भई वीरगञ्ज ३ बस्ने ४८ वर्षीय मुख्तार मियाको शव बिहीबार अपरान्ह भेटिएको पर्साका प्रहरी प्रवक्ता नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
खनालका अनुसार विगत ४ महिनादेखि उनी वीरगञ्जमा इलेक्ट्रिक रिक्सा चलाउँदै आएका थिए । नारायणी बयोधा अस्पतालको पछाडि वीरगञ्ज २३ इटिहायीस्थित कुलोमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो ।
कुलोमा शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले पहिचान गर्न नसकेपछि प्रहरीले घटनास्थलको निरीक्षण गरी मुचुल्का गरेर पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको थियो । पछि मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ । मियाको टाउकोमा चोट लागेको र घटनास्थल वरपर रगतको टाटा देखिएकाले हत्या हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






